नियम
पर्वतारोहणको लागि अनुमति लिनु पर्ने

(१) पर्वतारोहणको लागि अनुमति लिन चाहने पर्वतारोही दलका तर्फबाट सो दलका नेताले अनुसूची–१ बमोजिमको ढाँचामा मन्त्रालयमा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त प्राप्त भएमा मन्त्रालयले सो सम्बन्धमा आवश्यक जाँचबुझ गर्दा दरखास्तवालालाई अनुमति दिन मनासिव देखिएमा नियम ४ बमोजिमको सलामी रकम लिई अनुसूची–२ बमोजिमको ढाँचामा अनुमति दिनेछ ।
(२क) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्तिलाई पर्वतारोहणको अनुमति दिइने छैन :–
(क) सोह्र वर्ष उमेर पूरा नगरेको,
(ख) कुनै गम्भीर रोगका कारण पर्वतारोहणको लागि अयोग्य भएको भनी चिकित्सकबाट प्रमाणित भएको
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पर्वतारोही दलले सगरमाथा हिमालचुलीको लागि सलामी रकमको पाँच प्रतिशत र अन्य हिमालचुलीको लागि सलामी रकमको दश प्रतिशत रकम तिरेमा र त्यस्तो दरखास्तवालालाई अनुमति दिन मनासिब देखिएमा अनुसूची–३ बमोजिमको ढाँचामा प्रारम्भिक पर्वतारोहण अनुमति
दिन सकिनेछ ।
(४) उपनियम (३) बमोजिम प्रारम्भिक पर्वतारोहण अनुमति पाएको पर्वतारोही दलले नियम ४ बमोजिम बाँकी सलामी रकम बुझाएमा सो रकम बुझाएको तीन दिनभित्र मन्त्रालयले उपनियम (२) बमोजिम अनुमति दिनेछ ।
तर ७००० मिटर भन्दा कम उचाई भएको र नियम ३२ को उपनियम (१) को खण्ड (क) र (ख) बमोजिमका हिमालचुली बाहेक अन्य हिमालचुली आरोहण गर्न प्रारम्भिक पर्वतारोहण अनुमति पाएको पर्वतारोही दलले आफ्नो दलका सदस्यमा हेरफेर वा थपघट गर्न चाहेमा मन्त्रालयले दरखास्त परेको दश दिनपछि मात्र दरखास्तवालालाई अनुमति दिनेछ ।
(५) उपनियम (२) वा (४) बमोजिम अनुमति प्राप्त पर्वतारोही दलले पर्वतारोहण गर्न जानु अघि मन्त्रालयले दिएको पर्वतारोहण सम्बन्धी जानकारी (ब्रिफिङ) लिनु पर्नेछ ।